लिंगार्डको भविष्य कता ?

लन्डन, (खेलाडी) -  सन् २०२१ जेसे लिंगार्डका लागि धेरै अर्थमा फरक रह्यो । यो वर्ष उनका लागि गज्जब पनि रह्यो, खराव पनि रह्यो । 

उनले वर्षको सुरुमा म्यानचेस्टर युनाइटेडका लागि खेले र त्यसमा नमज्जासँग लय गुमाए । त्यसै कारण उनलाई वेस्ट हम पठाइयो, ऋणमा । 

वेस्ट हममा भने उनले राम्रो खेले, त्यसको अर्थ उनले फेरि लय हात पारे । त्यसै कारण उनी फेरि युनाइटेड फर्केका छन् । अब त उनी क्रिस्टियानो रोनाल्डोका लागि पास उपलब्ध गराउने प्रमुख खेलाडी भएका छन् । त्यसको अर्थ इंङलिस प्रमियर लिगमा उनको माग फेरि बढेको छ । 

यो सिजनको अन्त्यसम्ममा लिंगार्ड सामु फेरि वेस्ट हममै फर्कन मौका हुनेछ । अर्काे विकल्पका रूपमा उनी न्युक्यासल युनाइटेड पनि जान सक्नेछन् । सम्भवतः जनवरीको सरुवा बजारमा उनले नयाँ विकल्प पनि पाउन सक्नेछन् । 

यी सबैबीच मूल प्रश्न यही हो, के अर्को सिजन लिंगार्डले म्यानचेस्टर युनाइटेडकै लागि खेलिरहेका हुनेछन् अथवा अन्यत्र कतै जाने छन् । 

तर अहिले तत्काल उनी युनाइटेडमै छन् र राम्रो खेलिरहेका छन् । उनले जति समय ओल्ड ट्राफोर्डमा खेल्न पाउने छन्, त्यो समय राम्रो गर्न सक्यो भने उनको भविष्य युनाइटेडमै पनि हुन सक्छ, जुन उनका लागि पनि राम्रो हो ।