काठमाडौं । करातेकी एरिका गुरुङ चार प्रतिस्पर्धीलाई पछि पार्दै एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् ।
एरिकाले चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् ।
यसैगरी एरिकाले युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेकी थिइन् । उनले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा व्यक्तिगततर्फ स्वर्ण र टिम इभेन्ट्समा कांस्य पदक जितेकी थिइन् ।
नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने अवार्डको महिला विधामा एरिकासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री र कबड्डीकी मेनुका राजवंशी मनोनयमा थिए ।
वर्ष २०८० मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा मञ्चको छनोट समितिले उत्कृष्ट पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । उत्कृष्ट महिला खेलाडी घोषित एरिकाले पल्सर मोटरसाइकल प्राप्त गरिन् ।