एकदिवसीय श‍ृंखलामा इङ्ल्यान्डको अग्रता

कार्डिफ, (खेलाडी)- म्यान अफ दी म्याच साकिब महमुदको प्रभावशाली बलिङ प्रेरित इङ्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय खेलमा बिहीबार ९ विकेटको प्रभावशाली जित हासिल गरेको छ ।

पाकिस्तानविरुद्धको श‍ृंखला सुरु हुनुभन्दा दुई दिनअघिमात्र तीन खेलाडीसहित घोषित टोलीका सात सदस्यमा कोभिड १९ को संक्रमण पुष्‍टी भएपछि इङ्ल्यान्डले नयाँ टोली घोषणा गर्नुपरेको थियो । 

तथापि इङ्लिस टोलीका लागि महमुदले १० ओभर बलिङ गर्दै ४२ रन खर्चिएर चार विकेट लिएपछि टस हारेर पहिला ब्याटिङका लागि निम्त्याइएको भ्रमणकारी पाकिस्तान ३५.२ ओभरमा १ सय ४१ रनमा सिमित भयो । 

इङल्यान्डका लागि महमुदवाहेक क्राएग ओभरटर्न र माट पार्किन्सनले दुई/दुई विकेट लिए भने लेविस ग्रेजरीले एक विकेटमा नाम लेखाए । 

पाकिस्तानको इनिङमा ओपनर फखर जमानले बनाएको ४७ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । जमानले ६७ बलमा ६ चौका प्रहार गरेका थिए । साडब खानले ४३ बलमा एक छक्कासहित ३० रन बनाए भने सोएब मक्सुदले ३२ बलमा एक छक्का र एक चौकासहित १९ तथा विकेटकिपर मोहम्मद रिजवानले नौं बलमा तीन चौकासहित १३ रन बनाए । पाकिस्तानी टोलीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

१ सय ४२ रनको सानो लक्ष्य इङ्ल्यान्डले २१.५ ओभरमै एक विकेटको क्षतिमा हासिल गर्‍यो । घरेलु टोलीका ओपनर फिल साल्ट ७ रनमै पवेलियन फर्किए पनि डेविड मालान र ज्याक क्रलेले अविजित १ सय २० रनको साझेदारी गर्दै घरेलु टोलीलाई जितको बाटोमा डोर्‍याए । ६९ बल सामना गरेका मालानले आठ चौका प्रहार गरे भने क्रलेले ५० बलमा सात चौकासहित ५८ रनको योगदान गरेका थिए ।

बिहीबारको जितसँगै इङल्यान्डले तीन एकदिवसीय अन्तर्राष्‍ट्रिय खेलको श‍ृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो एकदिवसीय खेल शनिबार लर्डसमा हुनेछ भने अन्तिम खेल मंगलबार बर्मिङघममा हुनेछ । एकदिवसीय श‍ृंखला सकिएपछि दुई टोलीबीच तीन खेलको ट्‍वान्टी २० श‍ृंखला हुनेछ ।