काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासकै सबैभन्दा कम खेल जितेको लुम्बिनीविरुद्ध प्रभुत्वशाली सुदूरपश्चिम रोयल्सले सात विकेटको रवाफिलो जित हासिल गरेको छ । भेट्रान ब्याटर विनोद भण्डारीको ६९ रनको सानदार ब्याटिङप्रेरित जित्ने बानी भएको सुदूरपश्चिम जित्न नजानेको लुम्बिनीविरुद्ध सहजै जित निकाल्न सफल भयो ।
बिहीबार प्रतियोगिताको ११औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विनोद र चौथो नम्बरका ब्याटर आरिफ शेखले तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरे । विनोदले ६९ बलमा पाँच चौका र चार चौकासहित ६९ रन बनाए । त्यस्तै आरिफले ३७ बलमा चार चौका र एक छक्कासहित ३९ रनको योगदान गरे । यसबाहेक तेस्रो नम्बरका ब्याटर क्रिस लिनले १६ रन बनाए ।
लुम्बिनीको यो लगातार तेस्रो हार हो । यो नतिजासँगै प्लेअफ समीकरणमा पुग्ने लुम्बिनीको चुनौतीमा धक्का पुगेको छ । अर्को खेलमा पनि सकारात्मक नतिजा नल्याउने हो भने लगातार दोस्रो संस्करण लुम्बिनी प्लेअफ पुग्न असफल हुनेछ ।
लगातार चौथो जित हासिल गरेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ ।
