काठमाडौं । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि सोनु देवकोटालाई टोलीमा समावेश गरेको छ ।
आइकोनिक खेलाडी नटराजन शाह घाइते भएपछि सोनुलाई टोलीमा समावेश गरिएको काठमाडौंले जनाएको छ ।
दुई साताअघि काठमाडौंले ‘ट्यालेन्ट हन्ट’बाट नटराजन शाहलाई ‘आइकोनिक खेलाडी’का रुपमा भित्र्याएको थियो । बाँया हाते तीव्र गतिका बलर नटराजन झन्डै एक हजार खेलाडीबाट छानिएका थिए । तर, अभ्यासका क्रममा नटराजन घाइते भएपछि टोलीले उनको विकल्प खोजेको प्रशिक्षक वसन्त शाहीले बताए ।
शाहीका अनुसार नटराजनलाई ‘ग्रोइन’मा समस्या देखिएको छ । जसका कारण उनी दुई साता खेल्न सक्ने छैनन् ।
ट्यालेन्ट हन्टबाट काठमाडौंले पाँच खेलाडीलाई ‘डेभलपमेन्ट’ टोलीमा राखेको थियो । सोही टोलीमा रहेका सोनुले नटराजनको ठाउँ लिएका हुन् ।
घरेलु क्रिकेटमा सोनुले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै आएका छन् ।
