काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट दर ५०० देखि २ हजार सम्म तोकेको छ ।
उद्घाटन खेलका लागि टिकट मूल्य जेनरलतर्फ ५०० र प्रिमियमतर्फ १ हजार ५०० रुपैयाँ राखिएको छ । यसैगरी लिग चरणका अन्य खेलका लागि टिकट दर ५०० र १ हजार रुपैयाँ छ ।
यता प्ले अफदेखिका खेल हेर्नका लागि भने दर्शनकले जेनरलतर्फ १ हजार तथा प्रिमियरतर्फ २ हजार रुपैयाँ तिर्नुपर्नेछ । क्यानका अनुसार १५ हजार रुपैयाँ तिरेर सिजिनल टिकट पनि लिन सकिनेछ ।
यसैगरी क्यानले सुरुआती ६ दिनको खेलका लागि टिकट बुकिङ खुलाइएको जानकारी दियो ।
क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दैछन् ।
