काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि श्रीलंका विकेटकिपर लाहिरु मिलन्थालाई नै निरन्तरता दिने भएको छ ।
क्लबले शुक्रबार सामाजिक सञ्जालमार्फत मिलन्थासँग पुनः सम्झौता भएको जानकारी दियाे ।
पहिलो सिजनमा जनकपुलाई च्याम्पियन बनाउन मिलन्थाले सानादर प्रदर्शन गरेका थिए । प्रतियोगिताको सर्वाधिक रनकर्ता बनेका मिलन्थाले १० खेलमा दुई अर्धशतकसहित २९३ रन बनाएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि जनकपुरसँगै साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
