काठमाडौं । सावित्रा भण्डारीले अक्सर पत्रकारहरुबाट एउटा प्रश्नको सामना गरिरहनुपर्छ । अनि त्यसमा उनको उत्तर पनि सधै एउटै हुने गर्छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी नवनियुक्त कप्तान सावित्रालाई अक्सर सोधिने प्रश्न हो, तपाईंका लागि अहिलेसम्मको करियरमा सबैभन्दा सम्झनालायक प्रदर्शन कुन हो ? उनको यसमा उत्तर सदावाहर उत्तर हो, भारतविरुद्ध सन् २०१९ मा प्राप्त जित । त्यो वर्ष भारतले भुवनेश्वरमा महिला गोल्डकपको आयोजना गरेको थियो । लिग चरणमा नेपालले भारतलाई २-१ ले हराएको थियो । नेपाली महिला फुटबलले एउटा ऐतिहासिक प्रदर्शन मानेको त्यही खेललाई सावित्रा पनि आफ्नो करियरको अहिलेसम्मको स्मरणीय मान्छिन् ।
खासमा नेपालले भारतमाथि त्यसपछि पनि जित हासिल गरिसकेको छ । घरेलु मैदानमा गतवर्ष हासिल गरेको जित त धेरै अर्थमा स्मरणीय थियो । सायद विश्व फुटबल इतिहासकै सबभन्दा लामो प्रतिस्पर्धामा नेपालले झण्डै २० हजार घरेलु दर्शकमाझ जित हासिल गरेको थियो । जहाँ सावित्राको गोल र गोलमाथिको सेलिब्रेसन त झनै समर्थकको मानसपटलमा ताजै छ ।
तर सावित्राका लागि भने भुवनेश्वरको त्यो जित नै किन विशेष त । त्यसमा दुवै गोल सावित्राले गरेकी थिइन । त्यो खेलमा नेपालले छिमेकी देशमाथि मात्र जित हासिल गरेको थिएन । खासमा त त्यो खेलमा भारतको नामले दिने दबाबमाथि सावित्राको जिद्धिपनाले पनि जित हासिल गरेको थियो । यसकारण त्यो खेल सावित्रा र नेपालका लागि विशेष छ ।
भारतलाई भारतीय भूमिमै सामना गर्दा सबैभन्दा खुसी हुने भनेको सावित्रा नै हुन् । यसमा दुई मत छैन ।
भारतविरुद्ध नेपालले अहिलेसम्म १८ खेल खेलको छ । त्यसमा नेपाल जम्माजम्मी तीन खेलमा मात्र विजयी भएको छ । भारतमाथि नेपालको दोस्रो जित सन् २०२४ मा काठमाडौंमा भएको महिला साफ च्याम्पियनसिपका बेला प्राप्त भएको थियो । निर्धारित समयको त्यो सेमिफाइनल खेल १-१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

त्यसमा नेपाल विजयी भयो र त्यसमा पनि सावित्राले नै एक गोल गरेकी थिइन् । त्यो गोल पछि सावित्राले दशरथ रंगशालामा जसरी खुसीयाली मनाइन, त्यो कसले मात्र बिर्सन सक्छ र ? यो त नेपाली फुटबल इतिहासकै एक ‘आइकोनिक मोमेन्ट’ थियो । त्यस अर्थमा निर्धारित ९० मिनेटको खेलमा नेपाल विजयी रहेको भनेको भुवनेश्वरमै मात्र हो, त्यसैले पनि यो साँच्चै विशेष छ ।
अहिले नेपाली महिला टिम भारतमै छ । इरानसमेत सम्मिलित थ्री नेशन्स कप खेल्नका लागि टिम सिलोङ पुगेको छ ।
नेपालले आफ्नो पहिलो खेल इरानसँग खेलिसकेको छ । अब पालो, भारतको । भारतविरुद्धको खेल सोमबार हुनेछ । भारतलाई भारतीय भूमिमै सामना गर्दा सबैभन्दा खुसी हुने भनेको सावित्रा नै हुन् । यसमा दुई मत छैन। उनले नेपाली मिडियासँग कुरा गर्दा पनि आफ्नो ध्यान भारतविरुद्धको खेलमै रहेको बताएकी छिन् ।
फेरि सावित्राका लागि भारत नै सबैभन्दा प्रिय प्रतिद्वन्द्वी हो, यसमा पनि दुई मत हुने छैन् भलै यस्तै हो भनेर उनले दाबी गरेकी छैनन् । भारतविरुद्ध नेपालका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी सावित्रा नै हुन् । नेपाल र भारतले एक अर्का विरुद्ध खेल्न थालेको सन् २०१९ यता हो । यसबीच भएका १८ खेलमा नेपालले भारतविरुद्ध १२ गोल गरेको छ र त्यसमा आठ गोल सावित्रा एक्लैको छ ।सावित्राले भारतविरुद्ध चेन्नईमा भएको मैत्रीपूर्ण फुटबलमा गरेका दुई गोल पनि कम्तीका थिएनन् । उनले भारतविरुद्ध दुई अवसरमा दुई गोल गरेकी छिन् । त्यस अर्थमा भारतविरुद्ध अधिकांस समय उनको प्रदर्शन उच्च रहेको छ । अब भारतको सामना गर्दा पनि उनको प्रदर्शन यस्तै हुने अपेक्षा छ । अब त झन उनी पहिलो पटक कप्तानका रूपमा भारतविरुद्ध खेल्दैछिन् ।