प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता ट्वान्टी २० फर्म्याटमा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता ट्वान्टी २०  फर्म्याटमा आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक प्रतियोगिता ट्वान्टी २० फर्म्याटमा आयोजना गर्न लागेको हो । नेपालले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।

छनोटकै तयारीका लागि प्रतियोगिताको फर्म्याट परिवर्तन गरिएको हो । छनोटका लागि नेपाली टोलीले आफ्नो प्रशिक्षण समेत सुरु गरिसकेको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ले २६ पुसबाट सुरुहुने प्रतियोगिताको फर्म्याट परिवर्त हुने खेलाडीलाई बताए ।

‘आज राखेपबाट स्विकृत भएको छ । अब, टी–ट्वान्टी फम्र्याटमा प्रतियोगिता हुन्छ,’ उनले भने ।

यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुने गरेको थियो ।

प्रतियाेगिता २६ पुसबाट हुने भएसँगै क्यानले प्रशिक्षणमा सहभागी खेलाडीलाई छाड्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीयगरि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३६ लाख ५० हजार विनियोजन गरेको कार्यबहाक सचिव मल्ले जनाए ।