काठमाडौं । प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपको व्यक्तिगत स्पर्धामा नेपाल पहिलो भएको छ ।
नेपालले चार स्वर्ण एक रजत र एक कांस्य पदक जितेको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आइतबार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा चार दक्षिण एसियाली राष्ट्रका आठ टोली सहभागी थिए । नेपालबाट एमएमएसीका खेलाडीले सहभागिता जनाएका छन् ।
भेटानको थिम्पुमा भइरहेको प्रतियोगितामा श्रष्टा नापितले दोहोरो स्वर्ण जितिन् । श्रष्टाले महिला ५७ केजीमुनि तथा खुल्ला तौल समूहमा स्वर्ण पदक हात पारिन् । ५७ केजीमा खेल्ने खेलाडीले खुलामा पनि प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो ।
पुरुष ३६ केजीमुनिमा साइमन तामाङ तथा ४० केजीमुनिमा सदिन तामाङले स्वर्ण पदक जिते । महिला ३६ केजीमुनिमा जेनिशा वाइबाले रजत तथा पुरुष ५० केजीमुनिमा जुविन महर्जनले कांस्य पदक प्राप्त गरे ।