काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् ।
बिहीबार क्रिकेट संघ क्यानले गरेको पत्रकार सम्मेलन मार्फत बोल्दै पुबुदुले ३० खेलाडी बोलाउने र नाम बेलुकी वा भोलि बिहान सार्वजनिक गरिने बताए ।
उनले क्यानले नियुक्त गरेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान परिवर्तन नहुने बताएका छन् । यस अघि निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई क्यानले पदमुक्त गर्दै कारबाहीसमेत गरेको थियो ।
'कप्तान परिवर्तन हुने छैन । किन कि क्यानसंग अधिकार हुन्छ,' पुबुदुले पत्रकार सम्मेलनमा भने ।
तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा घोषणा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न मंगलबार नेपाल आइपुगेका हुन् ।
क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो ।
यसअघि नेपालले पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।