काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।
यसअघि नै संन्यासको विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसीआइ) लाई जानकारी गराएका कोहलीले सोमबार सामाजिक सञ्जालमार्फत संन्यास लिएको बताए ।
विराटले गत वर्ष नै ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका थिए । अब उनी भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा मात्र उपलब्ध हुनेछन् ।
विराटले १४ वर्षे टेस्ट करियरमा १२३ खेल खेल्दै ४६.८५ को औसतमा ९ हजार २३० रन बनाएका छन् । जसमा ३० शतक र ३१ अर्धशतक सामेल छन् ।
उनले ६८ खेलमा भारतको कप्तानी गरेका थिए । सन् २०११ मा वेस्ट इन्डिजविरुद्धको खेलमार्फत टेस्ट डेब्यू गरेका विराटले यसै वर्ष अस्ट्रेलियाविरुद्ध अन्तिम खेल खेले ।
विराट यो वर्ष टेस्ट क्रिकेटबाट संन्यास लिने दोस्रो भारतीय खेलाडी हुन् । केही दिन अगाडि मात्रै रोहित शर्माले टेस्ट क्रिकेटबाट बिदा लिने निर्णय गरेका थिए ।