काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आएपिएल) मा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।
दिल्लीले बिहीबार एम चिन्नास्वामी क्रिकेट मैदानमा घरेलु टोली रोयल च्यालेन्जर्स बेङ्लुरुविरुद्ध ६ विकेटको जित निकाल्यो ।
जितसँगै चार खेलमा आठ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । पराजित बेङ्लुरु पाँच खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा छ ।
बेङ्लुरुले प्रस्तुत गरेको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
दिल्लीका लागि केएल राहुलले ५३ बलमा सात चौका र ६ छक्काको मद्दतले अविजित ९३ रनको योगदान गरे । यसैगरी ट्रिस्टन स्टब्सले अविजित ३८ र कप्तान अक्षर पटेलले १५ रन बनाए ।
पाँचौं विकेटका लागि केएल र ट्रिस्टनले अविजित १११ रनको साझेदारी गरेका थिए । बेङ्लुरुका लागि भुवनेश्वर कुमारले दुई तथा यश दयाल र सुयश शर्माले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लुरुले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६३ रनको योगफल तयार पारेको थियो ।
बेङ्लुरुका लागि टिम डेविडले अविजित ३७, फिल साल्टले ३७, कप्तान रजत पाटिदारले २५, विराट कोहलीले २२ र कुर्णाल पाण्डेयाले १८ रन बनाए ।
पहिलो विकेटका लागि फिल र विराटले ६१ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि विपराज निगम कुलदीप यादवले समान दुई तथा मुकेश कुमारले एक विकेट लिए ।