नेपालगञ्ज । विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शुक्रबार नेपालगञ्ज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हरायो ।
आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान एक गोल गरे । खेलको ‘प्लेयर अफ दि म्याच’ अनिता घोषित भइन् ।
जितपछि आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । अब, आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग बैशाख ९ गते खेल्नेछ । पुलिस र सिलगुडीबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।
आर्मी फागुन अन्तिम साता इलाममा भएको महिला गोल्डकप र चैतमा चितवनमा भएको प्रतियोगितामा दोस्रो भएको थियो । आफ्ना तीन महत्वपूर्ण खेलाडीहरु दीपा शाही, अमिषा कार्की र विमला चौधरीविना मैदान उत्रिएको आर्मीले पहिलो हाफमा मात्र एक गोल गरेको थियो ।

खेलको चौथो मिनेटमै अनिताले आर्मीलाई दिलाइन् । विमला विकको फ्रिकिकलाई सुदूरपश्चिमकी गोलकिपर सुनौना चौधरीले नियन्त्रण लिन नसकेको फाइदा अनिताले लिँदै सिक्स यार्ड बक्सबाट गोल गरेकी हुन् ।
आर्मीले ५१औं मिनेटमा दोस्रो गोल थप्यो । अनिताले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् । पुर्णिमा टाडीले १८ यार्ड बक्स नजिकै ह्यान्ड गरेपछि रेफ्री कृति शेनले आर्मीलाई फ्रिकिक अवसर दिएकी थिइन् ।
चार मिनेटपछि नै आर्मीले तेस्रो गोल गर्यो । यसपटक शर्मिला थापाले मिलाएको बललाई अगाडी बढाउँदै हेमाले पेनाल्टी क्षेत्रबाट गोल गर्दै आर्मीलाई सहज अवस्थामा पुर्याएकी थिइन् ।
वैकल्पिक खेलाडी तुलसाले गोल गर्दा ७७औं मिनेटमा आर्मीले अग्रता ४-० को बनायाे । सुदूरपश्चिमका खेलाडीले क्लियर गर्न नसकेको बललाई तुलसाले बक्स बाहिरबाटै सानदार गोल गरिन् ।
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा पहिलो पटट भइरहेको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।
प्रतियोगिताको हरेक खेलको प्रत्यक्ष प्रशारण खेलाडी डटकमको फेसबुक पेज र युट्युब च्यानलबाट हुनेछ ।