काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ।
पाँचौं जित निकलेको दिल्ली ६ खेलमा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । पाँचौं हारसँगै सात खेलमा चार अंक जोडेको राजस्थान आठौं स्थानमा छ ।
सुपर ओभरमा राजस्थानले प्रस्तुत गरेको १२ रनको लक्ष्य दिल्लीले चार बलमा पूरा गरेको थियो । दिल्लीका लागि केएल राहुलले ७ र ट्रिस्टान स्टब्सले ६ रन बनाएका थिए ।
पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा दुई विकेट गुमाउँदै ११ रन बनाएको थियो। रियान पराग र यशस्वी जैसवाल रनआउट भएका थिए ।
दुवै टोलीले १८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । जारी आइपिएलमा सुपर ओभरबाट नतिजा निस्केको यो पहिलो खेल हो ।
अरुण जेट्ली रंगशालामा घरेलु टोली १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरै ब्याटिङ गरे पनि १८८ रन बनायो ।
अन्तिम ओभरमा जितको लागि राजस्थानलाई ९ रनको आवश्यकता थियो । तर मिचेल स्टार्चले आठ रन मात्रै खर्चिए ।
राजस्थानका लागि नितिश रानाले २८ बलमा ६ चौका र दुई छक्कासहित ५१ रनको योगदान गरे । यशस्वी जैयसवालले ३७ बलमा चार चौका र दुई छक्कासहित ५१, कप्तान सन्जु समासनले ३१ ( रिटायर्ड हर्ट), ध्रुव जुरेलले २६ र सिम्रन हेटमायरले अविजित १५ रन बनाए ।
पहिलो विकेटका लागि यशस्वी र सन्जुले ६१ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि मिचेल स्टार्च, कप्तान अक्षर पटेल र कुलदीप यादवले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८८ रनको योगफल तयार पारेकाे थियाे ।
दिल्लीका लागि अभिषेक पोरेलले ४९, केएल राहुलले ३८, ट्रिस्टन स्टब्सले अविजित ३४, कप्तान अक्षर पटेलले ३४ र अशुतोष शर्माले अविजित १५ रन बनाए ।
तेस्रो विकेटका लागि अभिषेक र केएलले ६३ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि जोफ्रा आर्चरले दुई तथा महेश तिक्क्षणा र वानिन्दु हसरंगाले समान एक विकेट लिए ।