शाकिब अल हसन

तीनवटै स्वरुपको क्रिकेट सँगै लान असम्भव: साकिब

ढाका । बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले महामारीको चपेटा र परिवारमाथिको दायित्वलगायतका कारण भविष्यमा सबै (तीन) स्वरुपका क्रिकेटलाई निरन्तरता दिन आफ्ना लागि सम्भव नहुने बताएका छन् ।

न्युजिल्यान्डविरुद्धको दुई खेलको टेस्ट शृंखलाबाट व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका साकिबले पाँच दिने क्रिकेटको स्वरुपलाई निरन्तरता नदिने संकेत गरेका छन् ।

‘टेस्ट क्रिकेट मेरा लागि महत्वपूर्ण छ र यसलाई महत्व दिनुपर्छ भन्ने मैले बुझेको छु । तर अहिलेको अवस्थामा मैले टेस्ट करियरमाथि पुन:विचार गर्नुपर्ने भएको छ,’ साकिबले स्थानीय टेलिभिजन च्यानलसँग भनेका छन् ।

दुई टेस्टका लागि ४० देखि ४२ दिन खचिर्नु पर्ने हुँदा खेलाडीलाई अप्ठेरो पर्ने उनको भनाई छ । महामारीका कारण क्वारेन्टिन र आइसोलेसनमा समेत बस्नुपर्ने भएकाले खेल रोजेरमात्र खेल्न सक्ने उनले बताए ।

‘मैले टेस्ट करियरबाट संन्यास लिन खोजेको होइन । तर २०२२ को विश्वकपछि म ट्वान्टी २० क्रिकेटबाट विदा लिन्छु । त्यसपछि एकदिवसीय र टेस्ट क्रिकेटमा सक्रिय भएर खेल्न सकिएला । तर एकैसाथ तीनै स्वरुपको क्रिकेट अगाडि बढाउनु मेरा लागि असम्भव जस्तै छ,’ उनले थपे ।