आइपिएल

हैदराबादबाट दोस्रो इनिङ सुरु गर्दै स्टेन

हैदराबाद । दक्षिण अफ्रिकाका पूर्व बलर डेल स्टेनले आफ्नो क्रिकेट करियरमा इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली सनराइजर्स हैदराबादबाट दोस्रो इनिङको सुरुआत गर्ने भएका छन् ।

हैदराबादले विश्व क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज लिगको आगामी संस्करणका लागि स्टेनलाई टोलीको बलिङ प्रशिक्षक बन्ने प्रस्ताब गरेका छन् । जुन स्टेनले पनि स्वीकार गरिसकेको बताइएको छ ।

अन्तिम समयमा नाटकीय परिवर्तन नभए अर्को साता हैदराबादले स्टेनलाई आफ्नो बलिङ प्रशिक्षकका रुपमा घोषणा गर्नेछ ।

आइपिएलमा ९५ खेल खेलेका स्टेनले अगस्टको सूरुआतमा सबैखाले क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।

विश्व क्रिकेटमै सर्वकालिन महान तिब्र गतिका बलरमध्ये एक मानिने स्टेनले ९३ टेस्टमा चार सय ३९ विकेट लिएका छन् । एक सय २५ एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय ९६ विकेट लिएका स्टेनले ४७ ट्वान्टी २० अन्तर्राष्ट्रियमा ६४ विकेट लिएका छन् ।

आइपिएलमा डेक्कन चाजर्स, सनराइजर्स हैदराबाद,गुजरात लायन्स र रोयल च्यालेन्जर्स बेङलोरबाट खेल्दै स्टेनले ९७ विकेट लिएका छन् ।

हैदराबादमा उनले मुख्य प्रशिक्षकका रुपमा नेतृत्व लिने तयारीमा रहेका टम मुडीसँग प्रशिक्षण टिममा सहकार्य गर्नेछन् ।