ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकपका सात चर्चा

दुबई । चार बलमा चार विकेटदेखि लिएर भारतविरुद्धको खेलमा दक्षिण अफ्रिकी विकेटकिपर ब्याटर क्विन्टन डी ककले घुँडा टेक्न नमानेको भन्ने कुरा आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनल समिकरण पूरा भइसक्दासम्मको चर्चाको विषय बने ।

विश्वकपको सेमिफाइनलमा चार टोलीले स्थान पक्का गरिसक्दा सम्म त्यस्तै चर्चाको विषय बनेका सात घटना :

चार बलमा चार विकेट

विश्वकपको पहिलो चरणको खेलमा तिव्र गतिका बलर कर्टिस कम्फेरले चार बलमा चार विकेट लिएपछि आयरल्यान्डले नेदरल्यान्ड्सलाई सात विकेटले पराजित गरेको थियो ।

कम्फेर ह्याट्रिकसँगै थप एक विकेट लिएपछि ट्वान्टी २० क्रिकेटमा चार बलमा चार विकेट लिने तेस्रो खेलाडी बने ।

ट्वान्टी २० क्रिकेटमा यसअघि श्रीलंकाका तिव्र गतिका बलर लासिथ मालिंगा र अफगानिस्तानका स्पिनर राशिद खानले मात्रै यो सफलता हात पारेका थिए ।

पाकिस्तानद्धारा विश्वकपमा भारतको रवाफ अन्त्य 

विश्वकपअन्तर्गत सुपर १२ को खेलमा ओपनरद्धय कप्तान बाबर आजम र मोहमद रिजवान दुवैले अविजित अर्धसतकीय पारी खेलेसँगै पाकिस्तानले भारतमाथि १० विकेटको सानदार जित दर्ता गराएको थियो । यो पाकिस्तानले कुनै पनि विश्वकपमा भारतविरुद्ध निकालेको पहिलो जित थियो ।

बाबर (६८) र रिजवान (७९) ले एक सय ५२ रनको साझेदारी गरेपछि पाकिस्तानले १३ बल अघि नै लक्ष्य पूरा गरेको थियो ।

त्यसअघि बलिङमा साहिन शाह अफ्रिदीले तीन विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको भारतले कप्तान कोहलीको ५७ रनको सहयोगमा एक सय ५१ रनको योगफल खडा गरेको थियो ।

डी ककको अडान

दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डी ककले सुपर १२ अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा घुँडा टेक्न अस्विकार गर्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले सबै खेलाडीलाई खेलअघि घुँडा टेकेर नस्लवादविरुद्धको जागरणमा सहभागी हुन निर्देशन दिएको केहि घण्टापछि डी ककको यस्तो निर्णय आएको थियो ।

डी ककले दुई दिनपछि यसमा माफी माग्दै आफू सम्पूर्ण टोलीले लिएको जागरण माध्यममा खुसी साथ सहभागी हुने बताएका थिए, ‘यदी मैले घुँडा टेक्नाले अरुलाई यसबारे जागृत गराउन सकिन्छ वा अन्यको जीवन शैली सहज बनाउन सकिन्छ भने म घुँडा टेकेर झुक्दा अझ घेरै खुसी हुनेछु ।’

ट्रोलविरुद्ध कोहलीको रिस

भारतीय कप्तान विराट कोहलीले पाकिस्तानविरुद्धको खेलमा एकमात्र मुस्लिम खेलाडी मोहम्मद शामीलाई दोषी देखाउँदै ट्रोल बनाउँने समर्थकलाई ‘सहयोगविहिन’ र ‘दयनीय’ भन्दै कडा आपत्ति जनाएका छन् ।

उनले समर्थकहरुप्रति आक्रोष पोख्दै भने, ‘कसैको धर्मलाई आधार बनाएर उमाथी प्रहार गर्नु निकै दयनीय काम हो ।’

प्रतियोगिताको दोस्रो खेलमा न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएपछि भारतको सेमिफाइनल पुग्ने सम्भावना गणितमामात्र सीमित भएको थियो । त्यही झोकमा खराब प्रदर्शन गरेका सामीमाथि समर्थकहरु खनिएका थिए ।

बटलरको ‘मास्टरक्लास’

प्रतियोगितामा इङ्ल्यान्डले सुरुका चारमध्ये चार खेल जित्दै एक खेल अगावै सेमिफाइनलको टिकट काटेको थियो ।

श्रीलंकाविरुद्ध २६ रनको जित दर्ता गर्दा इङ्ल्यान्डका ब्याटर जस बटलरले ‘मास्टरक्लास’ ब्याटिङ गर्दै जारी विश्वकपमा पहिलो शतक प्रहार गरेका थिए ।

ट्वान्टी २० क्रिकेटमा इङ्ल्यान्डबाट ८६ अन्तर्राष्ट्रिय खेल खेलेका बटलरको यो पहिलो शतक थियो । बटलरले ६७ बलमा समान ६ चौका र छक्का प्रहार गरेपछि इङ्ल्यान्डले एक सय ६३ रनको योगफल तयार गरेको थियो ।

हसरंगा : एक स्टारको जन्म

श्रीलंका विश्वकपको सुपर १२ बाटै बाहिरिए पनि टोलीका युवा खेलाडीमा देखिएको क्षमताले उनीहरु अस्ट्रेलियामा हुने २०२२ को विश्वकपको एक दाबेदार टोली हुन भन्ने चर्चा सुरु भइसकेको छ ।

विश्वकपमा १६ विकेट लिएका लेग स्पिनर तथा अलराउन्डर वनिन्दु हसरंगाले गरेको प्रदर्शन प्रतियोगितालाई सम्झिनै पर्ने विषयमध्ये एक बन्यो । २४ वर्षिय हसरंगाले २०२१ सम्म ३६ विकेट लिइसकेका छन् ।

‘हसरंगा एक असधारण क्रिकेटर हुन्,’ टोलीका प्रशिक्षक मिकी आर्थरले विश्वकप यात्रा सकिएपछि भनेका थिए ।

क्रिकेटमा वेस्ट इन्डिजको एक पुस्ताको अन्त्य

विश्वकपको सुपर १२ बाट बाहिरिएसँगै ड्वायन ब्राभोले संन्यासको घोषणा गरे । अर्का भेट्रान स्टार क्रिस गेल पनि चाडै ब्राभोसँग जोडिने देखेपछि कप्तान किरन पोलार्डले क्रिकेटमा वेस्ट इन्डिजको ‘एक पुस्ताको अन्त्य’ भएको बताए ।

साविक विजेता वेस्ट इन्डिज सुपर १२ को अन्तिम खेलमा अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो । जुन उनीहरुको प्रतियोगितामा खेलेका पाँच खेलमध्येको चौथो हार थियो ।

खेलका दौरान ३८ वर्षीय ब्राभो र ४२ वर्षीय गेल दुवैलाई अस्ट्रेलियाका खेलाडीले ‘गार्ड अफ अनर’ को सम्मान दिएका थिए ।

वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा ट्वान्टी २० विश्वकपको उपाधि चुम्दा दुवै खेलाडी टोलीका महत्वपूर्ण सदस्य थिए ।