ट्वान्टी २० विश्वकप

खेलाडी शारीरिक र मानसिक रुपमा थकित छन्ः रवि शास्त्री

दुबई । भारतका प्रशिक्षक रवि शास्त्रीले आफ्ना खेलाडी शारीरिक र मानसिक रुपमा थकित रहेको प्रतिक्रिया दिएका छन् ।

आइसीसी ट्वान्टी२० विश्वकपमा न्युजिल्यान्डले आइतबार अफगानिस्तानलाई पराजित गरेसँगै भारत र नामिबियाबीच समूह चरणको अन्तिम खेल औपचारिकतामा सीमित भएको थियो । 

भारतले सोमबार नामिबियामाथि नौ विकेटको जितका साथ प्रतियोगिताको सुखद अन्त्य गरेको थियो ।

पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डलाई नतिजा सुम्पिएको भारतले पछिल्लो तीन खेलमा लगातार फराकिलो जित हात पारेपनि त्यो सेमिफाइनल प्रवेशका लागि पर्याप्त भएन । 

यस विश्वकपसँगै शास्त्री भारतीय टोलीको जिम्मेवारीबाट हट्दैछन् । उनको स्थानमा राहुल द्रविड मुख्य प्रशिक्षकमा नियुक्त भइसकेका छन् ।

‘खेलाडीहरुलाई अब आराम चाहिन्छ’,शास्त्रीले भने, ‘उनीहरु मानसिक रुपमा थकित छन् । उनीहरुले करिब ६ महिना देखी लगातार खेलिरहेका छन् । त्यस्तै आइपिएल समापन भएलगत्तै  विश्वकपको तालिका रह्यो । यसले पनि उनीहरुलाई मानसिक रुपमा थकित बनाएको छ ।’

भारतले नोभेम्बर १७ बाट न्युजिल्यान्डविरुद्ध तीन ट्वान्टी २० र दुई टेस्ट शृंखला खेल्दैछ ।