ट्वान्टी २० विश्वकप

पाकिस्तानको सतप्रतिसत नतिजा, सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने

सारजहाँ । ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको पाकिस्तानले सुपर १२अन्तर्गत समूह दुईको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७२ रनको अन्तरमा हराउँदै विजेताको हैसियत सुरक्षित गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी विश्वकपमा सतप्रतिसत नतिजा निकाल्न सफल एकमात्र टोली पाकिस्तानले समूह दुईको विजेताको हैसियतमा अन्तिम चारमा समूह एकको उपविजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह दुईको उपविजेता न्युजिल्यान्डले अर्को समूहको विजेता इङ्ल्यान्डसँग खेल्नेछ ।

समूह दुईको अन्तिम खेलमा भोली भारत र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । समूहबाट पाकस्तिान र न्युजिल्यान्डले सेमिफाइनलको यात्रा पक्का गरिसकेका कारण भारत र नामिबियाबीचको खेलको प्रतियोगितामा कुनै अर्थ रहने छैन ।

समूहको अन्तिम खेलअघि सबै पाँच खेलमा जित हासिल गरेको पाकिस्तान १० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ भने न्युजिल्यान्ड आठ अंकका साथ दोस्रो स्थानमा छ । भारत र अफगानिस्तान समान चार अंकका साथ तेस्रो तथा चौथो स्थानमा छन् । भारत रनरेटमा अगाडि भएकाले तेस्रो स्थानमा छ । चार खेलमा दुई अंक जोडेको नामिबिया पाँचौं स्थानमा छ भने सबै पाँच खेलमा हार भोगेको स्कटल्यान्ड विना अंक पुछारमा छ ।

आइतबारै अबुधाबीमा भएको पहिलो खेलमा न्युजिल्यान्डले अफगानिस्तानमाथि आठ विकेटको जित हासिल गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । उक्त जितसँगै आठ अंकका साथ पाकिस्तानसँग अंक बराबरी गरेको न्युजिल्यान्ड नेट रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा उक्लिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८९ रन बनाएको थियो । जवाफमा स्कटल्यान्डलाई ११७–६ को स्कोरमा रोक्दै पाकिस्तानले सतप्रतिसत नतिजा यात्रालाई निरन्तरता दिएको थियो ।

पाकिस्तानका साडब खानले दुई तथा साहिन शाह अफ्रिदी, ह्यारिस रौफ र हसन अलीले एकएक विकेट लिएको इनिङमा स्कटल्यान्डका लागि रिची बेरिङटनले अविजित अर्धसतक बनाए । सर्वाधिक ५४ रन बनाएका बेरिङटनले ३७ बलमाचार चौका र एक छक्का प्रहार गरे ।

यसैगरी ओपनर जर्ज मन्सीले १७ तथा मिचेल लिस्कले १४ रनको योगदान गरे । स्कटल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

यसअघि टस जितेर पाकिस्तानी कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने निर्णय लिए पनि उनका भरपर्दा ओपनिङ जोडी मोहम्मद रिजवानले अपेक्षित योगदान गर्न सकेनन् । पहिलो विकेटका लागि बाबरसँग ३५ रनको साझेदारी गरेपछि १५ रनको व्यक्तिगत स्कोरमा रिजवान पवेलियन फर्किए ।

१९ बलमा एक चौका प्रहार गरेका रिजवान सातौं ओभरको पहिलो बलमा हाज्मा ताहिरको बलमा विकेटकिपर म्याथु क्रसबाट स्टम्पिङ आउट भएका थिए ।

अर्का भरपर्दा ब्याटर फखर जमान पनि आठ रनमै क्रिस ग्रेभ्सको बलमा माइकल लिस्कको हातबाट समातिए ।

बाबरले जिम्मेवारी पूरा गर्ने क्रममा कप्तानी इनिङ खेल्दै ६६ रनको योगदान गरे । जारी विश्वकपमा चौथो तथा ट्वान्टी २० अन्तर्राष्ट्रिय करियरमा २४औं अर्धसतक बनाउने क्रममा बाबरले ४७ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

बाबरलाई मोहम्म्द हफिज र म्यान अफ दी म्याच सोएब मलिकले राम्रो साथ दिएपछि पाकिस्तान ठूलो योगफल बनाउन सफल भएको थियो । १९ बलमा चार चौका र एक छक्कासहित ३१ रनको इनिङ खेलेका हफिजले तेस्रो विकेटका लागि बाबरसँग ५३ रनको साझेदारी गरे ।

यसैगरी मलिकले चौथो विकेटका लागि बाबरसँग ३० रनको साझेदारी गरे । पाकिस्तानी कप्तान बाबरलाई क्रिस ग्रिब्सले लिस्कबाट क्याच गराएका थिए । अत्यन्तै आक्रामक ब्याटिङ गर्दै अर्धसतक बनाएका मलिकले १८ बलमा एक चौका र ६ छक्कासहित ५४ रन बनाएका थिए ।

स्कटल्यान्डका ग्रिब्सले दुई विकेट लिँदा हाज्मा र साफयान सरिफले एकएक विकेटमा नाम लेखाए ।