ट्वान्टी २० विश्वकप

आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटः ग्रुप वान सेमिफाइनल समिकरण पूरा

दुबई । कागिसो रवाडाकोले पहिलो पटक ट्वान्टी२० क्रिकेटमा ह्याट्रिक विकेट लिएको दिन दक्षिण अफ्रिकाले इङ्ल्यान्डमाथि १० रनको जित हात पारेको छ । 

आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार सम्पन्न ग्रुप वानको खेलमा दक्षिण अफ्रिकाले उपविजेताको रुपमा सेमिफाइनल प्रवेशका लागि इङल्यान्डलाई एक सय ३३ रनमा रोक्नु पर्ने थियो । तर इङ्ल्यान्डले एक सय ३३ रन कटाएपछि दक्षिण अफ्रिकाको जित प्रतियोगितामा सुखद अन्त्यमा सीमित बन्यो ।

पाँच खेलमा समान आठ अंक जोडे पनि दक्षिण अफ्रिका दोस्रो स्थानको अस्ट्रेलियासँग नेट रनरेटमा पछि परेको हो ।

सुरुआती चार खेलमा शतप्रतिशत नतिजा ल्याएको इङ्ल्यान्ड आठ अंकसहित यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

सयुक्त अरब इमिरेट्स (युएई) को शारजहाँ क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड एक सय ७९ रनमा सीमित बन्यो ।

इङ्ल्यान्डका मोइन अलिले ३७ रन बनाए । त्यस्तै डेविड मलानले ३३, लियाम लिभिंगस्टनले २८ र जस बट्लरले २६ रन जोडे ।

दक्षिण अफ्रिकाका रवाडाले कीर्तिमानी ह्याट्रिक लिए । दक्षिण अफ्रिकाबाट ट्वान्टी २० मा ह्याट्रिक लिने रवाडा पहिलो खेलाडी बने । त्यस्तै तवरेज साम्सी र डेविन प्रेटोरियसले समान दुई तथा एनरिक नोर्टजीले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको दक्षिण अफ्रिकाबाट रसे भान डेरले अविजित ९४ रन बनाएपछि टोलीले दुई विकेटको क्षतीमा एक सय ८९ रनको योगफल तयार गरेको थियो ।

भानले ६० बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । त्यस्तै एडियन मार्करमले ५२ र क्विन्टन डी ककले ३४ रन जोडे ।

इङ्ल्यान्डका मोइन अली र अदिल रशिदको नाममा समान एक विकेट रह्यो ।