आइसिसी ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकप : श्रीलंकासँग पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटै बाहिर

अबुधाबी । सिमरन हेटमायरको जिम्मेवार इनिङका बावजुद श्रीलंकासँग २१ रनले पराजित भएपछि साविक विजेता वेस्ट इन्डिजको पनि ट्वान्टी २० विश्वकपमा सेमिफाइनल पुग्ने सम्भावना बिहीबार राती समाप्त भएको छ ।

बिहीबार अबुधाबीमा भएको खेलअघि नै श्रीलंकाको यात्रा सुपर १२ को समूह चरणमा सीमित हुने पक्का भइसकेको थियो । बिहीबारको जितपछि श्रीलंकाले पाँच खेलमा चार अंक जोडेको छ भने चार खेलमात्र खेलेको वेस्ट इन्डिजको खातामा दुई अंक छ ।

आजको खेलमा जित हासिल गरेको भए वेस्ट इन्डिजको सेमिफाइनल पुग्ने झिनो आशा जीवित रहने थियो । चार खेलमा सतप्रतिसत नतिजासहित आठ अंक जोडेको इङ्ल्यान्ड दुई खेल बाँकी रहँदै सेमिफाइनल पुगिसकेको छ ।

अब समूह एकबाट अस्ट्रेलिया वा दक्षिण अफ्रिकामध्ये एक टोली सेमिफाइनल पुग्ने दोस्रो टोली बन्नेछ ।

बिहीबारै यसअघि सम्पन्न खेलमा बंगलादेशमाथि आठ विकेटको जित हासिल गरेको अस्ट्रेलिया ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको थियो । समान ६ अंक भए पनि नेट रनरेटमा पछि परेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । बंगलादेशले पाँच खेलमा अंकको खाता खोल्न सकेको छैन ।

महत्वपूर्ण खेलमा वेस्ट इन्डिजले लगातार विकेट गुमाइरहँदा हेटमायरले सम्हालिएको प्रदर्शन गर्दै ८१ रनको योगदान गरेका थिए । हेटमायरले ५४ बलमा आठ चौका र चार छक्कासहित अन्तिम बलसम्म क्रिजमा टिकिरहे । तर उनको योगदान साविक विजेता टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

वेस्ट इन्डिजको इनिङमा युनिभर्स बोस क्रिस गेल एक रनमै पवेलियन फर्किए भने उनका ओपनिङ पार्टनर इभिन लेविस पनि आठ रनमै आउट भए ।

निकोलस पुरनले बनाएको ४६ रन वेस्ट इन्डिजका लागि दोस्रो उच्च व्यक्तिगत योगदान थियो । पुरनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । साविक विजेता टोलीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न नसक्दा एक सय ९० रनको लक्ष्य पछ्याएको टोली १६९–८ मा सीमित भएको थियो ।

म्यान अफ दी म्याच घोषित श्रीलंकाका वानिन्दु हसलंका डा सिल्भाले प्रभावकारी बलिङ गर्ने क्रममा चार ओभरमा १९ रन खर्चिएर दुई विकेट लिएका थिए । यसैगरी बिनुरा फर्नान्डो र चामिका करुणारत्नेले पनि समान दुई विकेट लिए भने दुशमन्थ चामिरा र डासुन सानाकाले एक÷एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङलाई निम्त्याइएको श्रीलंकाले ओपनर पाथुम निसांका र चारिथ असलंकाको अर्धसतक प्ररेणामा तीन विकेट गुमाउँदै एक सय ८९ रनको योगफल  बनाएको थियो ।

टोलीका लागि असलंकाले सर्वाधिक ६८ रनको योगदान गरे । ४१ बल खेलेका असलंकाले आठ चौका र एक छक्का प्रहार गरेका थिए ।

समूह चरणबाटै बाहिरिइसकेको श्रीलंकाका लागि निसांकाले ४१ बलमा पाँच चौकासहित ५१ रनको इनिङ खेले । अर्का ओपनर कुसल परेराले २१ बलमा दूई चौका र एक छक्कासहित २९ रन बनाउँदा कप्तान डासुन सानाकाले १३ बलमा दुई चौका र एक छक्कासहित अविजित २२ तथा चामिका करुणारत्नेले अविजित ६ रन बनाए ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेलले दुई तथा ड्वाइन ब्राभोले एक विकेट लिएका थिए ।