नेपाल क्रिकेट संघ

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बन्न ६० जनाको आवेदन


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबारसम्मको समयसिमा राख्दै कात्तिक एक गते मुख्य प्रशिक्षकको आवेदन खोलेको थियो ।

भदौमा ओमानमा विश्व क्रिकेट लिग डिभिजन दुई चलिरहेको बेला डेभ ह्वाटमोरले अचानक राजीनामा घोषणा गरेपछि नेपाली राष्ट्रिय टिममा मुख्य प्रशिक्षकको पद रिक्त रहेको थियो ।

रिक्त पदका लागि विभिन्न अन्तर्राष्ट्रिय टिम सम्हालिसकेका ६० प्रशिक्षकको आवेदन परेको क्यानका क्रिकेट व्यवस्थापक विनोद दासले पुष्टि गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान दासले खेलाडीसँगको कुराकानीमा आवेदन गर्ने प्रशिक्षकहरु सबैजसो विदेशी रहेको बताए ।

आवेदन गर्ने सबैजसो हाई प्रोफाइल कोचहरु हुनुहुन्छ । हाम्रो आवश्यकताअनुसार पर्याप्त क्षमता र अनुभव भएका प्रशिक्षकहरुको आवेदन परेको छ । हामी उत्साहित छौं, दासले खेलाडीसँग भने ।

दासका अनुसार क्याले आगामी चार दिनभित्र आवेदन दिएका प्रशिक्षकहरुमध्येबाट पहिलो चरणको छनोट गर्नेछ । त्यसपछि सात दिनभित्र सबैको अन्तरवार्ता गरेर नियुक्ति प्रक्रिया पूरा गर्ने योजना बनाएको छ ।