ट्वान्टी २० विश्वकप

बटलर प्रेरित इङ्ल्यान्डको लगातार तेस्रो जित

दुबई । जस बटलर आक्रामक ब्याटिङ प्रदर्सनमा आइसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत इङ्ल्यान्डले लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राती भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्‍यो । अस्ट्रेलियाले प्रस्तुत गरेको एक सय २६ रनको लक्ष्य इङ्ल्यान्डले ११.४ ओभरमा मात्र दुई विकेटको क्षतीमा पूरा गर्यो ।

इङ्ल्यान्डको जितमा आक्रामक ब्याटिङ गरेका जस बटलरले अविजित ७१ रन जोडे । बटलरले ३२ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए । त्यस्तै जेसन रोयले २२ र जोनी बेरेस्टोले १६ रन जोडे ।

अस्ट्रेलियाका एस्टोन अगर र एडम जाम्पाले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २५ रनको योगफल तयार गरेको थियो ।

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले ४४ रन जोडेका थिए । त्यस्तै एस्टोन अगरले २० र म्याथ्यु वेडले १८ रन बनाएका थिए ।

इङ्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । त्यस्तै क्रि ओक्स र टाइमल मिल्सले समान दुई विकेट लिँदा अदिल राशिद र लियम लिभिगंस्टोनले एक/एक विकेटमा नाम लेखाए ।

प्रतियोगिताअन्तर्गत सुपर १२ को ‘ग्रुप वान’ मा रहेको इङ्ल्यान्ड तीन खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै तीन खेलबाट दुईमा जित र एकमा पराजय बेहोरेको अस्ट्रेलिया भने तालिकाको तेस्रो स्थानमा छ ।