ट्वान्टी २० विश्वकप

रासिदको कीर्तिमान

दुबई । अफगानिस्तानका लेग स्पिनर रासिद खान ट्वान्टी २० क्रिकेटमा सबै भन्दा छिटो एक सय विकेट पूरा  गर्ने कीर्तिमान रचेका छन् ।

शुक्रबार आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा दुई विकेट लिएसँगै रासिदले कीर्तिमान रचे ।

यसअघि ट्वान्टी२० क्रिकेटमा सबै भन्दा छिटो एक सय विकेट पूरा  गर्ने  कीर्तिमान श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिंगाको नाममा थियो ।

रासिदले ५३  ट्वान्टी२० खेलमा एक सय विकेटको कीर्तिमान रचेका हुन् । यसअघि मालिंगाले ७६ खेलमा एक सय विकेटको कीर्तिमान कायम गरेका थिए ।

एकदिवसीय क्रिकेटमा पनि सबैभन्दा छिटो एक सय विकेट  पूरा  गर्ने  कीर्तिमान रासिदकै नाममा छ ।

रासिदले सन् २०१८ मा ४४ खेलमा एक सय विकेट पूरा गर्दै यसअघि अस्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको कीर्तिमान  तोडेका थिए ।

स्टार्कले ५० एक दिवसीय खेलमा एक सय विकेटको कीर्तिमान रचेका थिए ।