ट्वान्टी २० विश्वकप

भारत-पाकिस्तानबीच बहुप्रतिक्षित खेल आज

अबुधाबी । आइसिसी ट्वान्टी २० विश्वकपमा आज (आइतबार) विश्व क्रिकेटका सबभन्दा ठूला दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानले एकअर्काको सामना गर्नेछन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने आजको दोस्रो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा ३ः४५ बजे श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

भारतले आइसिसीका सबैखाले प्रतियोगितामा पाकिस्तानमाथी दबदबा कायम राखेको छ । पाकिस्तानले अहिलेसम्म एकदिवसीय तथा ट्वान्टी २० विश्वकपमा भारतविरुद्ध जित निकाल्न सकेको छैन ।

यी दुई टोलीबीच हालसम्म ट्वान्टी २० विश्वकपमा पाँच पटक प्रतिस्पर्धा भएको छ जसका सबै खेलको नतिजा भारतको पक्षमा गएको छ ।

आजको खेललाई विश्व क्रिकेटमा छुट्टै पहिचान बनाइसकेका भारतीय कप्तान विराट कोहली र छोटो समयमा निकै चर्चा बटुलिरहेका पाकिस्तानका कप्तान बाबर आजमबीचको प्रतिस्पर्धाको रुपमा लिने क्रिकेटप्रेमीको जमात पनि ठूलो छ ।

राजनीतिक टकरावका कारण भारत र पाकिस्तानबीच जुनसुकै खेलमा कडा प्रतिस्पर्धा हुने गर्दछ । त्यसमध्ये पनि क्रिकेटमा यी दुई टोलीको चर्को प्रतिद्धन्द्वीता छ ।

सन् २००७ यता यी दुईटोलीबीच आठ ट्वान्टी २० खेल भएका छन् । जसमा भारतले सात खेल आफ्नो पक्षमा पार्दा पाकिस्तान एक खेलमा विजयी भएको छ ।