विराटनगरको यात्रा समूह चरणमा सीमित, पाेखराकाे प्लेअफ सम्भावना बलियो

काठमाडौं,(खेलाडी)-  लगातार चौथो खेलमा पराजित भएसँगै विराटनगर वारियर्सको एभरेष्ट प्रिमियर लिग (इपिएल) को यात्रा लिग चरणमा सीमित बनेको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको आफ्नो चौथो खेलमा विराटनगरले पोखरा राइनोजलाई सात विकेटको नतिजा सुम्पिएको हो ।

विराटनगर वारियर्सले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा मात्र तीन विकेट क्षतीमा पूरा गरेको थियो । पोखराका लागि एसेला गुणारत्नले अविजित ५० रन जोडे भने ओपनर रिचार्ड लेबीले ४७ र सहानल् ४३ रन जोडे ।

विराटनगरका प्रतिश जिसी,सिकन्दर राजा र हरि चौहानले समान एक विकेट लिए ।

विराटनगरले पहिलो खेलमा चितवन टाइगर्स, दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र तेस्रो खेलमा ललितपुर पेट्रियटस्लाई नतिजा सुम्पिएको थियो । अंक खाता खोल्न नसकेको विराटनगर अन्तिम स्थानमा छ ।

विराटनगरले अन्तिम खेलमा काठमाडौं किग्स इलेभन विरुद्ध खेल्नेछ ।

यता दुई जित, एक बराबरी र एक हारको नतिजा ल्याएको पोखराको पाँच अंक भएको छ र टोलीको शीर्ष चारमा बस्लै प्लेअफमा प्रवेश गर्ने सम्भाबना बलियो भएको छ ।

यसअघि  टस हारे ब्याटिङका लागि आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७२ रनको योगफल खडा गरेको थियो  ।

विराटनगरका लागि ओपनर आसिफ शेखले ४४, सिकन्दर राजाले २९,  सन्दिप रजाईलीले अविजित २८ र कप्तान करण केसीले अविजित २४ रन जोडे ।

पोखराका विक्रम सोबले दुई तथा विकेट यादव र नन्दन यादवले समान एक विकेट लिए ।