काठमाडौं । विभागीय टोली नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जित्यो ।
नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपिएफ क्लब पाँच स्वर्ण, ६ रजत र पाँच कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको बागमती प्रदेशले एक स्वर्ण, एक रजत र ६ कांस्य पदक हात पार्यो ।
प्रतियोगितामा बागमती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली आर्मी र एपिएफ गरी ६ टिमको सहभागिता थियो । बाँकी प्रदेशले स्वर्ण नजिते पनि पदकविहीन भने भएनन् । गण्डकीले दुई रजत र चार कांस्य, सुदूरपश्चिमले एक रजत र तीन कांस्य तथा कोशीले एक कांस्य पदक जिते ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा आर्मीका उपेन्द्र शाही र महिलामा एपिएफकी अनितम कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ प्राप्त गरे।
विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अन्जन धमला, आयोजक फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ लगायतले पुरस्कृत गरे ।
तीन दिने प्रतियोगितामा ११२ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिए ।