काठमाडौं । नेपाल आर्मीका उपेन्द्र शाहीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत साब्रेमा सोमबार स्वर्ण पदक जितेका छन् । एपिएफका राजेन्द्र गजुरेल दोश्रो तथा आर्मीका रघुवीर चन्द तेश्रो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा एपिएफकी अनिता कार्की पहिलो, आर्मीकी पुजन कुमाल दोश्रो र गण्डकी प्रदेशकी कृपा गुरुङ तेश्रो स्थानमा रहे ।
यसैगरी नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टिम साब्रेमा आर्मी, एपिएफ र बागमती प्रदेश क्रमशः शीर्ष तीन स्थानमा रहे ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले गरे । तीन दिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी १० टिमका ११२ खेलाडीको सहभागिता रहेको आयोजक फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाए।
प्रतियोगितामा पुरुष/महिलातर्फ समान ६ गरी १२ स्पर्धा समावेश गरिएको छ ।