काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अपहिल रन असार ८ गते हुने भएको छ ।
दौड २१ किलोमिटरको हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिका सदस्य तथा आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी गराए ।
प्रतियोगितामा २०० भन्दाबढी खेलाडी सहभागी हुने बताइएको छ ।
शीर्ष ५ ले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क,चन्द्रागिरीको मत्क्षेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिने छ । दौडको रुटमा सहभागीले करिब ३ हजार फिट उचाई तय गर्नेछन् ।
रुटमा ६ वटा वाटर प्वाइन्ट, ६ वटा चेक प्वाइन्ट र ३ वटा मेडिकल प्वाइन्टको व्यवस्था गरिएको छ । ६५ स्वयंसेवक र ८ वटा बाइक परिचालन गरिने छ ।
दौड सञ्चालन गर्न करिब १४ लाख २५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।