काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ को सेटमा पराजित हुँदै विभागीय टोली नेपाल एपिएफ क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ सुरुआती दुई सेट २२-२५, २७-२९ ले गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट २५-१३, २५-२३ ले आफ्नो पक्षमा पारेकाे थियो ।
पाँचौं तथा निर्णायक सेट १२-१५ ले गुमाएपछि एपिएफको यात्रा टुंगियो । हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेश भलिबल संघको सामना गर्नेछ । यो खेलको विजेताले इलिमिनेटरमा स्थान बनाउनेछ ।
अब पुरुषतर्फ नै विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतको सुनिल कुमार भलिबल क्लबको सामना गर्नेछ ।
यसैगरी महिलतर्फको खेलमा युनाइटेड प्यासनल भलिबल क्लब थाइल्यान्डले आर्मीलाई ३-१ तथा एपिएफले आयोजक टाइगर ग्रुपलाई ३-० को सेटमा हराएका थिए।