काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टफाइलमा पराजित भएकी छन् ।
के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा शुक्रबार पलेशा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भइन् ।
पलेशाले अब रिपाचेजमार्फत कांस्य पदकको लागि प्रतिस्पर्धा गर्नेछिन्।
पहिलो चरणमा पलेशाले शुक्रबार भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध पिटिजीको आधारमा ३१-० को सहज जित निकालेकी थिइन् ।
पलेशाले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
पलेशासँग टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ । त्यतिबेला पलेशा कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् ।