काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टफाइल प्रवेश गरेकी छन् ।
के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको पहिलो चरणमा पलेशाले शुक्रबार भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध पिटिजीको आधारमा ३१-० को सहज जित निकालिन् ।
पलेशाले क्वार्टरफाइनलमा आजै ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन् । उक्त खेल दिउँसाे ४ बजेपछि सुरु हुनेछ ।
पलेशाले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
पलेशासँग टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ । त्यतिबेला पलेशा कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् ।