अस्ट्रेलियाविरुद्ध उत्कृष्‍ट प्रदर्शन गर्ने आशा

काठमाडौ, (खेलाडी)- अस्ट्रेलियाविरुद्धको खेलसँगै नेपालले शुक्रबार कतार विश्‍वकप २०२२ र चीनमा हुने एसियन कप २०२३ को छनोट प्रतियोगिताको दोस्रो चरणको अन्त्य गर्दैछ । 

आगामी चरणलाई स्वत छानिने सम्भावनाबाट टाढिइसकेका कारण एसियाली फुटबलको महारथी अस्ट्रेलियाविरुद्ध खेल्दा आज नेपालको लक्ष्य छनोट चरयणको सुखद विदाई गर्नु मात्र हुनेछ ।

४ अवे र १ घरेलु खेलमा मात्र दुई जित हात पारेको नेपालले कुवेतमा गत साताबाट सरु समूह ‘बी’ का बाँकी खेलबाट कम्तीमा चौथो स्थानमा बस्‍ने र सबै समूहका चौथो हुने टोली मध्ये उत्कृष्‍ट ४ मा पर्दै एसियन कप २०२३ को तेस्रो चरणको लक्ष्य लिएको थियो । गत बिहीबार पहिलो खेलमा चाइनिज ताइपेईविरुद्ध २-० को जितका साथ नेपालले चौथौ स्थानको टोली मध्ये उत्कृष्‍ट ४ मा बस्दै तेस्रो चरण प्रवेशको सम्भावना जीवित राखेको थियो । तर सोमबार जोर्डनविरुद्ध ३-० को हार बेहोरेसँगै नेपालको त्यो सम्भावना च्युत भएको थियो । नेपालले एसियन कप २०२३ छनोटको प्लेअफ खेल्नु पर्ने पक्का भएको थियो ।

कोभिड १९ महामारीको दोस्रो लहरका कारण एएफसीले छनोट चरणका बाँकी खेलहरु सेन्ट्रल भेन्युका रुपमा एकै ठाउँमा गराउने निर्णय लिएपछि नेपालले समूहका बाँकी तीन घरेलु खेल कुवेतमा खेल्नु परेको हो । 

त्यसैले अस्ट्रेलियाविरुद्धको अन्तिम छनोट खेल नेपालका लागि प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर बन्‍न सक्छ । सन् २०१९ को अक्टोबर १० मा क्यान्बेरामा भएको पहिलो लेगमा नेपालले अस्ट्रेलियालाई ५-० को नतिजा सुम्पिएको थियो ।

नेपाल ७ खेलको समाप्तीमा २ जित र ५ हारको नतिजापछि समूहको चौथो स्थानमा छ । अस्ट्रेलिया भने ६ खेलमा शतप्रतिशत नतिजाका साथ १८ अंकका साथ शीर्ष स्थानमा छ । अस्ट्रेलियाले शीर्ष स्थानमा बस्दै विश्‍वकपको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो पारिसकेको छ । समान ६ खेलमा क्रमष : १३ र १० अंक जोडेका जोर्डन र कुवेत क्रमष : दोस्रो र तेस्रो स्थानमा छन् । चाइनिज ताइपेईले भने ६ खेलमा अंक खाता खोल्न सकेको छैन ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसियाली महारथी अस्ट्रेलियाविरुद्धको खेलमा उत्कृष्‍ट प्रदर्शन गर्ने दाबी गरेका छन् । 

‘हामीले अस्ट्रेलियाविरुद्ध उत्कृष्‍ट प्रदर्शन गर्नेमा म विश्‍वस्त छु,’ अल्मुताइरीले भने, ‘हामी नतिजा भन्दा पनि राम्रो प्रदर्शनमा केन्द्रित छौं । पछिल्ला तीन खेल (इराकविरुद्धको मैत्रीपूर्ण खेल र चाइनिज ताइपेई तथा जोर्डनविरुद्धको विश्‍वकप छनोट खेल)मा राम्रो प्रदर्शन गरेका छौं । हाम्रो रणनीति र खेल्ने शैलीमा धेरै परिवर्तन आइसकेको छ । छनोट चरणको अन्तिम खेलमा हामी अस्ट्रेलियाविरुद्ध उत्कृष्‍ट प्रदर्शनका साथ नेपाली समर्थकलाई खुशी दिन चाहान्छौं ।’

अल्मुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा पनि युवा खेलाडीलाई अवसर दिने संकेत गरेका छन् ।

‘अस्ट्रेलिया बलियो प्रतिद्धन्द्धी हो,’ अल्मुताइरीले थपे, ‘हाम्रो टोली युवा जोशले भरिएको छ । त्यसैले युवा टोलीले अर्को एउटा खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा म आशावादी छु ।’

अस्ट्रेलिया फिफा वरियतामा ४१औं स्थानमा छ भने नेपाल १ सय ७१औं स्थानमा छ । अस्ट्रेलियाको टोलीमा अधिकांश खेलाडी युरोपका विभिन्‍न देशमा लिग खेल्ने खेलाडी छन् । त्यसैले उनीहरुको आक्रमण रोक्नु नेपालको रक्षापंक्तिका लागि कठिन बन्‍न सक्छ ।