अल्मुताइरीले समर्थकसँग माफी मागे

कांठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतमाथि जित हासिल गर्न नसकेकोमा समर्थकसँग माफी मागेका छन् ।

दशरथ रंगशालामा बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १-१ को बराबरीमा रोकिएपछि पत्रकार सम्मेलनमा अल्मुताइरीले नेपाली समर्थकसँग माफी मागे ।

‘म नेपाली समर्थकसँग माफी माग्न चाहन्छु । आज हामीले जित्न सकेनौं’ अल्मुताइरीले भने, ‘आशा छ, दुई दिन पछि हुने दोस्रो मैत्रीपूर्ण खेलमा सुखद नतिजा आउछ ।’ 

अल्मुताइरीले खेलको केही पक्षमा सुधार आवश्यक रहेकोमा जोड दिँदै दोस्रो मैत्रीपूर्ण खेलमा थप सुधारिएको प्रदर्शन गर्ने बताए । उनले दोस्रो हाफको सुरुमा भारतले आफूहरुलाई दबाबमा राखेको बताए । 

भारतका प्रशिक्षक इगोर स्टिमेकले पहिलो हाफमा पूर्ण रुपमा दबाबमा खेले पनि दोस्रो हाफमा टोलीले धेरै राम्रो प्रदर्शन गरेको दाबी गरे । तथापि पाएका अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको उनको भनाई थियो । 

‘नेपालले काउन्टर अट्याकको रणनीति लिएको थियो । जसमा उनीहरु धेरै सफल समेत देखिए,’ उनले भने, ‘दोसो खेलमा हामी उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छौं ।’ 

दोस्रो खेल आइतबार हुनेछ ।