छानविन समितिको प्रतिवेदन सार्वजनिक, प्रशिक्षक अल्मुताइरीले आचरण सुधार्नुपर्ने 

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई दोषी देखाउँदै उनी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादमाथि छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । 

समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) का कार्यकारी सदस्य पुरेन्द्रविक्रम लाखेले आज बुधबार एक कार्यक्रमका बीच प्रतिवेदन राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई बुझाएका हुन् । 

प्रतिवेदनमा समितिले एन्फालाई १५ दिनभित्र आचार संहिता बनाई राखेपबाट स्वीकृत गराई लागु गर्न सुझाएको छ । यसैगरी अल्मुताइरीले आफ्नो व्यावसायिक आचरणगत बानी ब्यहोरामा सुधार गर्नुपर्ने, विवादास्पद राजीनामा सम्बन्धि फेसबुक पोस्ट हटाउन निर्देशन दिनुपर्नेलगायतका सुझाव पनि प्रतिवेदनमा उल्लेख छन् ।

‘अल्मुताइरीले एन्फासँग गरेको सम्झौता बमोजिमका काम मात्र गर्नुपर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि काम नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा केही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रती लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै सचेत गराउनु पर्ने देखिन्छ,’ प्रतिवेदनको निश्कर्षको चौथो बुँदामा लेखिएको छ । 

११ बुँदे सुझावमा सञ्चारकर्मीमाथि पनि अवरोध लगाउने प्रयास गरिएको छ । सञ्चारकर्मीले कुनै पनि खेल प्रशिक्षकसँग अन्तरवार्ता वा धारणा लिनु परे एन्फाका सुचना अधिकारीसँग पूर्वअनुमती लिनुपर्ने र प्रशिक्षकले पनि व्यवस्थापक मार्फत नै समन्वय गर्नुपर्ने सुझाव दिएको प्रतिवेदनले प्रशिक्षक र अल्मुताइरीको विवाद मिलाउने जिम्मा एन्फालाई दिएको छ । सात दिनभित्र मेरोखेलका पत्रकारद्धय विभु श्रेष्ठ र विभा थापासँग प्रशिक्षकको विवाद दुवै पक्षलाई बोलाएर समाधान गर्न एन्फालाई निर्देशित गरेको छ ।

अल्मुताइरीले एन्फा मुख्यालयवाहिर चुरोट खाएको विषयमा पत्रकारद्धयसँग विवाद भएको थियो । 

टिम व्यवस्थापकले प्रशिक्षकका गुनासा र समस्या तत्काल जिम्मेवार निकायमा पुर्याउने र एन्फाले प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुति गराउनुपर्ने, खेल क्षेत्रलाई धुम्रपान र मध्यपान निषेधित क्षेत्र बनाउँदै सोही बमोजिमका कामहरु अगाडि बढाउनुपर्ने, एन्फाका सम्पूर्ण पदाधिकारी, प्रशिक्षकलगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने लगायतका सुझाव समितिले दिएको छ ।

यसैगरी आगामी दिनमा एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए आफै समाधान गर्ने र नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराई राखेपलाई अनुरोध गर्ने पनि सुझावमा उल्लेख छ ।

आन्तरिक समस्या समाधानका लागि सरकार गुहारेको भन्दै एन्फाको व्यापक आलोचना भएको थियो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको गाइडलाइनअनुसार आन्तरिक समस्यामा सरकारी हस्तक्षेप स्वीकार्य नहुने भन्दै एन्फा नेतृत्वको आलोचना भएको थियो ।

राष्ट्रिय टिमका कतारी नागरिक अल्मुताइरीले फेसबुकमार्फत समर्थकलाई सम्बोधन गर्दै साउन १० गते वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूलाई काम गर्न नदिएको, लगातार अवरोध सिर्जना गरिरहेको जस्ता आरोपसहितको स्ट्याटसमा राजीनामा गर्न एन्फा जान लागेको लेखेका थिए ।

सामाजिक सञ्जालमा समर्थकमाझ अत्यन्तै लोकप्रिय रहेका अल्मुताइरीको उक्त स्ट्याटसपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङले चर्को आलोचना बेहोर्नुपरेको थियो । समर्थकहरुले फेसबुकमै तथानाम गाली गरेपछि नेम्वाङले फेसबुक नै डिएक्टिभ गर्नुपरेको थियो ।

विवाद समाधानका लागि एन्फाले गरेको आन्तरिक प्रयास असफल भएपछि एन्फाको कार्यसमिति वैठक बसेरै छानविन समिति बनाउन युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरिएको थियो । 

मन्त्रालयले खेलकुदका सबै पक्ष राखेपले हेर्ने भन्दै छानविन समिति बनाउन राखेपलाई जिम्मेवारी दिएको थियो । राखेपले लाखेको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।

लाखे संयोजकत्वको समितिका सदस्यमा राखेपका सदस्यहरु रेणुका श्रेष्ठ, सुवर्णकेशरी श्रेष्ठ, चन्द्रबदना राई, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर बिक, राखेप कानुुन शाखा प्रमूख नारायणराज अर्याल र राखेप संघ संस्था समन्वय शाखाका प्रमूख सरोजकुमार पोखरेल छन् ।