छानविन समितिले प्रतिवेदन बुझायो 

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादमाथि छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । 

समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) का कार्यकारी सदस्य पुरेन्द्रविक्रम लाखेले आज बुधबार एक कार्यक्रमका बीच प्रतिवेदन राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई बुझाएका हुन् । 

राष्ट्रिय टिमका प्रशिक्षक कुवेती नागरिक अल्मुताइरीले फेसबुकमार्फत समर्थकलाई सम्बोधन गर्दै साउन १० गते वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूलाई काम गर्न नदिएको, लगातार अवरोध सिर्जना गरिरहेको जस्ता आरोपसहितको स्ट्याटसमा राजीनामा गर्न एन्फा जान लागेको लेखेका थिए ।

सामाजिक सञ्जालमा समर्थकमाझ अत्यन्तै लोकप्रिय रहेका अल्मुताइरीको उक्त स्ट्याटसपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङले चर्को आलोचना बेहोर्नुपरेको थियो । 

विवाद समाधानका लागि एन्फाले गरेको आन्तरिक प्रयास असफल भएपछि एन्फाको कार्यसमिति वैठक बसेरै छानविन समिति बनाउन युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरिएको थियो । 

मन्त्रालयले खेलकुदका सबै पक्ष राखेपले हेर्ने भन्दै छानविन समिति बनाउन राखेपलाई जिम्मेवारी दिएको थियो । राखेपले लाखेको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।