कुवेतमा नेपालको लक्ष्य एसियन कप छनोट

काठमाडौं, (खेलाडी)– मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फिफा विश्‍वकप छनोट प्रतियोगितामा समूह ‘बी’ को चौथो स्थानमा रहेर एसियन कप छनोट प्रतियोगिता खेल्ने नेपालको चाहना भएको बताएका छन् । 

‘एसियन कप छनोट खेल्ने सम्भावनालाई जीवित राख्‍नका लागि हामी चौथो स्थानभन्दा माथि रहन चाहन्छौं । त्यसका लागि भोली चाइनिज ताइपेईविरुद्ध जित्‍नुको विकल्प छैन । हामीले धेरै मैत्रीपूर्ण खेल खेलेका छैनौं । युवा टिम भए पनि प्रतिभावान खेलाडीहरु छन्,’ फिफा विश्‍वकप २०२२ र एएफसी एसियन कप २०२३ छनोट प्रतियोगितामा चाइनिज ताइपेईविरुद्ध खेल्नुअघि नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले भने । 

चाइनिज ताइपेईविरुद्ध जित्‍नुको वि‍कल्प छैन । हामीले धेरै मैत्रीपूर्ण खेल खेलेका छैनौं । युवा टिम भए पनि प्रतिभावान खेलाडीहरु छन्

नेपालले बिहीबार साँझ ९ः४५ बजे कुवेतको जाबेर अल–हमाद रंगशालामा चाइनिज ताइपेइसँग खेल्नेछ । छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चाइनिज ताइपेईजाई २–० ले हराएको थियो । नेपाल अहिले तीन अंकका साथ समूह ‘बी’ को चौथो स्थानमा छ । चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन । अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान दश अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

कुवेत जानुअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल ६–२ ले पराजित भएको थियो । जुन मुख्य प्रशिक्षक अल्मुताइरीको प्रशिक्षणमा नेपालले खेलेको पहिलो खेल थियो । 

यहाँको वातावरणसँग घुलमिल हुन हामीलाई कठिन भइरहेको छ । यहाँको मौसम ठूलो चुनौती हो

कुवेतको तापक्रम अहिले ४७ डिग्री सेल्सियसको हाराहरीमा छ । जुन नेपालको भन्दा धेरै बढि हो । कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवैलाई कठिन हुने मुख्य प्रशिक्षक अल्मुताइरीले बताए । 


‘कुवेतमा खेल्न सहज छैन। मौसमका कारण कुवेतमा खेल्न दुवै टिमका लागि कठिन हुनेछ,’ नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले भने । 

चाइनिज ताइपेईका प्रशिक्षक भोम सिए–न्ह्मले पनि कुवेतको मौसममा खेल्नु चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यहाँको वातावरणसँग घुलमिल हुन हामीलाई कठिन भइरहेको छ । यहाँको मौसम ठूलो चुनौती हो ।’’

‘‘नेपालको सन्तुलित टिम छ,’’ नेपालविरुद्धको खेलबारे ताइपेईका प्रशिक्षक सिए–न्ह्मले भने, ‘‘कोभिड–१९ महामारीका कारण हाम्रो केही मुख्य खेलाडी र विदेशमा खेल्ने खेलाडी टिममा छैनन्। आशा छ नयाँ खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्दै आफुलाई प्रमाणित गर्नेछन्।’’