काठमाडौं । एसियन कप पुग्ने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगिताको तेस्रो चरणअन्तर्गत आफ्नो पाँचौं खेलमा मलेसियासँग १-० को हार बेहोरेको छ ।
मंगलबार क्वालालम्पुरस्थित बुकित जलिल नेशनल रंगशालामा घरेलु टोलीलाई जित दिलाउन वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका फरवार्ड फाजल हलिमले निर्णायक गोल गरे ।
हलिमले खेलको ५६औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । उनले ‘वान भर्सेस वान’मा नेपाली गोलकिपर किरण चेम्जोङलाई बिट गरे । उनको लोअर प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
इन्जुरी समयमा रक्षक पाओलो हस्वे पेनाल्टीमा चुक्दा मलेसियाले १-० को नतिजामा चित्त बुझायो । यसअघि रक्षक हारिथ हाइकाललाई नेपालका मिडफिल्डर लाकेन लिम्बुले फउल गरेपछि मलेसियाले पेनाल्टी पाएको थियो ।
मलेसियाले कर्नर लिइरहँदामा हाइकाललाई लडाएपछि रेफ्रीले सुरुमा लाकेनलाई पहेँलो कार्ड देखाउँदै ‘वार्न’ गरेका थिए । पछि फेरि त्यही कथा दोहोरियो । त्यसपछि रेफ्रीले लाकेनलाई दोस्रो पहेँलो कार्ड र रातो कार्ड देखाउँदै मेदान छाड्न लगाए । रेफ्रीले यसपाली मलेसियालाई सेटपीस अवसर पनि दियो ।
पछिल्ला चार अन्तर्राष्ट्रिय खेलमा लाकेनले दोस्रो रातो कार्ड सामना गरेका हुन् । यसअघि म्यानमारविरुद्धको पहिलो लेगमा लाकेनले रातो कार्ड खाएका थिए ।
जितसँगै मलेसिया अर्को वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपको नजिक पुगेको छ । छनोट प्रतियोगितामा मलेसियाको यो लगातार पाँचौं जित हो । छैटौं तथा अन्तिम खेलमा भियतनामविरुद्ध हार टारे मलेसिया एसियन कपमा पुग्ने छ ।
समूह ‘एफ’मा नेपालको यो लगातार पाँचौं हार हो । यसअघि नेपालले भियतनामविरुद्धको दुबै लेगमा पराजय बेहोर्दा मलेसिया र लाओससँगको पहिलो लेगमा पनि हार बेहोरेको थियो । पहिलो लेगमा मलेसियाले नेपाललाई २–० ले हराएको थियो ।
नेपालले अब छनोट प्रतियोगिताको अन्तिम खेलमा लाओसको सामना गर्नेछ । यो खेल मार्च ३१ मा हुनेछ । पहिलो लेगमा लाओसले नेपालमाथि २-१ को ऐतिहासिक जित हासिल गरेको थियो । ऐतिहासिक यसअर्थमा कि नेपालविरुद्ध लाओसको यो पहिलो जित थियो ।
