काठमाडौं । कीर्तिमानी प्रदर्शनका साथ विराटनगर किंग्सले पोखरा एभेन्जर्समाथि प्रभावशाली जितका साथ नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को सुरुआत गरेको छ ।
आफ्नै कीर्तिमानमा सुधार गर्दै २२० रनको विशाल योगफल तयार गरेको विराटनगरले मंगलबार कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न दिवारात्री खेलमा पोखरालाई १६७ रनमा रोक्दै ५३ रनको जित हासिल गर्यो ।
मंगलबार प्रतियोगिताको तेस्रो दिन टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले ओपनर लोकेश बम र तेस्रो नम्बरका ब्याटर मार्टिन गप्टिलको शतकीय साझेदारीमा पूरा २० ओभर खेल्दै विकेट गुमाएर २२० रनको कीर्तिमानी योगफल खडा गरेको थियो ।
एनपिएल इतिहासमा विराटनगरले अहिलेसम्मकै एक इनिङ्समा सबैभन्दा ठूलो योगफल बनाउने कीर्तिमान बनाउँदा लोकेश र गप्टिल दुवैले अर्धशतकीय पारी खेले । लोकेशले ४८ बलमा १ चौका र ७ छक्कासहित ७२ तथा गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रनको योगदान गरेका थिए ।
यसअघि पहिलो सिजनमा विराटनगरले लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो । त्यतिबेला लुम्बिनीले दिएको १९१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा पूरा गरेको थियो । जुन अहिलेसम्म एनपिएलमा ठूलो योगफलको कीर्तिमान थियो ।
सन्दीप लामिछाने कप्तान रहेको विराटनगरका लागि मंगलबार अमेरिकी खेलाडी शुभम रणजीले ३८ रन बनाए । उनले १६ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । यसैगरी बसिर अहमदले २३ तथा स्कटिस ओपनर जर्ज मुन्सीले १० रन जोडे ।
पोखराका माट टेलरले २ विकेट लिँदा आकाश चन्द, सागर ढकाल र कप्तान कुशल भुर्तेलले १/१ विकेट लिएका थिए ।
कीर्तिमानी योगफलबाट उच्च मनोबलका साथ फिल्डिङमा उत्रिएको विराटनगरका लागि प्रतिश जिसी, शुभम र कप्तान सन्दीप र मर्चेन्ट डी लाङ्गेले समान २ तथा बसिर र सूर्य तामाङले समान १ विकेट लिएपछि पोखरा १८.५ ओभरमा १६७ रनमा सीमित भयो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । भुर्तेलले ३१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए । पोखराको इनिङमा एडम रसिङटनले २१ बलमा ५ चौका र २ छक्कासहित ३९ रन बनाए । त्यसबाहेक डन डथह्वाइटले २९ तथा अभिशेक तिवारीले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
