काठमाडौं । इटालियन क्लब युभेन्टस र जर्मनीको बोरुसिया डर्टमन्डले युइएफए च्याम्पियन्स लिगमा मंगलबार ४-४ को बराबरी खेलेका छन् ।
एलियान्ज रंगशालामा घरेलु टोली युभेन्टसका लागि डुसन भ्लाहोभिचले दुई तथा केना यिल्डिज र लोयड केलीले समान एक गोल गरे । डर्टमन्डका लागि करिम अदेयेमी, फेलिक्स एनमेचा, यान काउटो र रामी बेन्सेबैनीले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२औं मिनेटमा अदेयेमीको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । ६३औं मिनेटमा यिल्डिजले युभेन्टसलाई बराबरीमा ल्याए ।
एनमेचले ६५औं मिनेटमा गोल गर्दा डर्टमन्ड २-१ ले अगाडि बढ्यो । दुई मिनेटपछि नै भ्लाहोभिचले गोल गर्दा युभेन्टस २-२ को बराबरीमा आयो ।
काउटोले ७५औं मिनेटमा डर्टमन्डका लागि तेस्रो गोल गरे । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा बेन्सेबैनीले पेनाल्टीमार्फत गोल गर्दा डर्टमन्ड ४-२ ले अगाडि बढ्यो ।
अन्तिम समय तिर सम्हालिन नसक्दा जिततर्फ उन्मुख डर्टमन्ड अंक बाँड्न बाध्य बन्यो । इन्जुरी समयमा भ्लाहोचितले व्यक्तिगत दोस्रो तथा युभेन्टसका लागि तेस्रो गोल गरे ।
इन्जुरी समयमै केलीले गोल गर्दै डर्टमन्डबाट अंक खोसे ।
मंगलबारै सम्पन्न अन्य खेलमा आर्सनलले एथलेटिक क्लब बिल्बाओलाई २-०, रियाल मड्रिडले मार्सेलाई २-१, टोटनहमले भियारियाललाई -१०, रोयल युनियन सेन्ट-गिलोइसले पिएसभीलाई ३-१ तथा काराबाग एफकेले बेन्फिकालाई ३-२ ले पराजित गरे ।