काठमाडौं । एष्टन भिल्लासँग दोस्रो लेगमा ३–२ ले पराजित भएपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति टोली ३–२ ले पराजित भएपनि समग्रमा भने ५–४ ले अगाडि रह्यो । घरेलु मैदानमा भएको पहिलो लेगमा भने पिएसजी ३–१ ले विजयी भएको थियो ।
भिल्ला पार्कमा एष्टन भिल्लाले कमब्याक जित निकालेको हो । पिएसजीले २७ मिनेटभित्र दुई गोल गरेको थियो । अचराफ हाकिमीले ११औं मिनेटमा गोल गरेका थिए । नुनो मेन्डिसले २७औं मिनेटमा दोस्रो गोल थपेका हुन् ।
तर, यौरी टिलेम्यान्सले ३४औं मिनेटमा पहिलो गोल फर्काए । जोन म्याकगिनले ५५औं मिनेटमा बराबरी गोल गरेका थिए । इरी कोन्साले ५७औं मिनेटमा विजयी गोल गरेपछि टोली क्वार्टरफाइनलबाटै बाहिरिन बाध्य भयो ।
राति नै भएको खेलमा बार्सिलोना पनि डर्टमन्डसँग पराजित भयो । तर, पहिलो लेगमा गरेको सानदार प्रदर्शनपछि बार्सिलोना ९ वर्षपछि अन्तिम चारमा प्रवेश गरेको छ ।