काठमाडौं । नेपालले आइसिसी यु -१९ विश्वकप एसिया छनोटमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
बुधबार नेपालले मुलपानी क्रिकेट मैदान (तल्लो) मा हङकङविरुद्ध ९ विकेटको सानदार जित निकाल्यो ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो ।
लगतार दोस्रो हार बेहोरेको हङकङ अंकविहिन छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो ।
हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि साहिल पटेलले अविजित ४२, कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए ।
साहिलले दोस्रो विकेटका लागि नरेनसँग अविजित ६३ र पहिलो विकेटका लागि निरजसँग ५५ रनको साझेदारी गरेका थिए ।
हङकङका लागि एकमात्र विकेट सायन पुरीले लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेकाे थियाे ।
हङकङका लागि कप्तान शिव माथुरले ११६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए ।
दोस्रो विकेटका लागि शिव र आर्याले ५० रनको साझेदारी गरेका थिए । नेपालका लागि युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिए ।
नेपालले अब अन्तिम खेलमा शनिबार अफगानिस्तानकाे सामना गर्नेछ ।