काठमाडौं । बागमती युवा क्लबलाई १-० ले स्तब्ध पार्दै नेपाल पुलिस क्लब एन्फा राष्ट्रिय महिला लिग २०२४/२५ को क्वालिफायर २ मा प्रवेश गरेको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न इलिमिनेटर खेलमा अमृता जैसीले इन्जुरी समयमा गोल गरेपछि पुलिस क्वालिफायरमा स्थान बनाउन सफल भएको हो ।
दुवै टोलीले निर्धारित समयमा कुनै पनि खतरा बुन्न सकेनन् । खेल अतिरिक्त समयमा धकेल्नै लाग्दा इन्जुरी समयमा अमृताले राइट ब्याक मोनिका पुलामी मगरको क्रसलाई सदुपयोग गर्दै हेडर गोल गरिन् । विपक्षी रक्षकबाट कुनै पनि निगरानीमा नरहेकी अमृताले सहज गोल गरिन् ।
खेलको ४०औं मिनेटमा पुलिसलाई भाग्यले साथ दिएन । रक्षक अमृता जैसीको लोअर प्रहार पहिलो बारमा लागेर बाहिरिएपछि बागमतीले राहतको सास फेरेको थियो । एक मिनेटपछि कप्तान निरु थापाको प्रहार बाहिरियो ।
दोस्रो हाफमा पुलिसले बागमतीलाई दबाबमा राखे पनि गोल भने गर्न सकेन । ८०औं मिनेटमा निरुको प्रहार बाहिरियो । निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा विर्सना चौधरीको प्रहार बागमतीकी गोलकिपर सुजता तामाङले बचाइन् ।