काठमाडौं । हिमाल थिङको उत्कृष्ट प्रदर्शनप्रेरित माछिन्द्र फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १०-० को एकतर्फी जित निकालेको छ ।
जितसँगै मछिन्द्रले १० खेलमा १३ अंक जोडेको छ। आर्मी जितविहिन छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन हिमालले ह्याट्रिक गरे । यसैगरी राहुलकुमार योञ्जनले दुई, प्रज्ञान राई, उपेन्द्र बोहरा, सोहन थापा र सौगताकुमार बम्जनले समान एक गोल थपे । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
खेलको पहिलो मिनेटमै हिमालको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । २६औं मिनेटमा प्रज्ञानले टोलीको अग्रता दोब्बर बनाए ।
हिमालले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । सात मिनेटपछि उपेन्द्रले गोल गर्दा मछिन्द्रको अग्रता ४-० मा पुग्यो ।
हिमालले ३८औं मिनेटमा ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्जुरी समयमा राहुलले गोल गर्दै मछिन्द्रलाई ६-० ले अगाडि बढाए ।
सोहनले ६१औं मिनेटमा टोलीका लागि सातौं गोल गरे । चार मिनेटपछि नै सौगातले गोल गर्दा मछिन्द्रले ८-० को फराकिलो अग्रता लियो ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा युगल भण्डारीबाट आत्मघाती गोल हुन पुग्दा मछिन्द्रले ९-० को अग्रता लियो । खेलको इन्जुरी समयमा राहुलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई १०-० को एकतर्फी जित दिलाए ।