काठमाडौं । लगातार तेस्रो जितसँगै महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मंगलबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा महावीरले समूह चरणको आफ्नो अन्तिम खेलमा पुष्पलाल स्पोर्टस क्लबविरुद्ध १२९ रनको फराकिलो जित दर्ता गर्यो ।
जितसँगै ३ खेलमा ६ अंक जोडेको महावीर समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । तीनै खेलमा पराजित पुष्पलाल अंकविहिन रह्यो ।
महावीरले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याएको पुष्पलाल १७.५ ओभरमा ८० रनमै समेटियो । पुष्पलालका लागि दीपक भण्डारीले ३४ र विकी मण्डलले १३ रनको योगदान गरे ।
महावीरका लागि प्रतिश जिसी, विराट बस्नेत र सगुन चन्दले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो ।
महावीरका लागि राजेश कर्णले ४४ बलमा सार्वधिक ८० रनको योगदान गरे । यसैगरी सोनु देवकोटाले ४४ र रिजन थापाले ४१ रन बनाए ।
पुष्पलालका लागि राम रोकाया, ओमप्रकाश डाँगी र विकाश आचार्यले समान एक विकेट लिए ।
मंगलबारै सम्पन्न अर्को खेलमा थर्ड आइ युथ क्लबले ओएसिस क्रिकेट एकेडेमीविरुद्ध चार रनको जित निकाल्यो ।