इङ्लिस प्रिमियर लिग

सिटीको सहज जित, लिभरपुल र चेल्सी रोकिए

लन्डन । दोस्रो स्थानको लिभरपुलले अंक बाँडेको दिन म्यानचेस्टर सिटी आइतबार न्युक्यासल युनाइटेडमाथि सहज जितका साथ इङलिस प्रिमियर लिगको शीर्प स्थानमा उक्लिएको छ ।

सिटीले न्युक्यासललाई ४-० ले हराउँदै शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको हो । सिटीको १८ खेलमा ४४ अंक छ भने समान खेल खेल्दै दोस्रो स्थानमा बसेको लिभरपुलको ४१ अंक छ । त्यस्तै तेस्रो स्थानको चेल्सीको ३८ र चौथो स्थानको आर्सनलको ३२ अंक छ । 

पाँचौं मिनेटमा रुबेन डियासले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । २७औं मिनेटमा कान्सेलोले सिटीको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा रियाद महारेजले सिटीको अग्रता बढाए । खेल सकिन चार मिनेट बाँकी रहँदा रहिम स्टर्लिङले सिटीका लागि चौथो गोल गरेका थिए ।

लिभरपुल भने टोटनहमसँग २-२ को बराबरीमा रोकिएको हो ।

१३औं मिनेटम ह्यारी केनले टोटनमहमका लागि गोल खाता खोलेका थिए । ३५औं मिनेटमा डिएगो जोटोले लिभरपुलाई खेलमा फर्काए ।

६९औं मिनेटमा एन्ड्रियु रोबर्टसनले लिभरपुललाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि नै  ह्युङ मिन सनले टोटनहमलाई खेलमा फर्काए । 

चेल्सी भने उल्भरहमटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।