काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप ‘होम अर अवे’ पद्धतिमा हुने भएको छ ।
बुधबार काठमाडौंमा बसेको साफ कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले च्याम्पियनसिप यही जुन १५ देखि जुलाई २५ सम्म आयोजना गर्ने तय पनि गरेको छ ।
यसैगरी प्रतियोगिता अब प्रत्येक दुई वर्षमा हुने भएको छ । ‘हामी च्याम्पियनसिपलाई होम अर अवे पद्धतिमा आयोजना गर्ने प्रयासमा छौं। तर, कुनै समस्या आएमा यस वर्ष भने प्रतियोगिता विगतको जस्तै हुनेछ,’ साफका महासचिव अनवरुल हकले बैठकपछि भने ।
हालसम्म च्याम्पियनसिपको १४ संस्करण सम्पन्न भइसकेका छन् । तर कुनै पनि ‘होम अर अवे’ पद्धतिमा भएका छैनन् ।
यसैगरी बैठकले यही वर्षदेखि साफ महिला तथा अर्को वर्षदेखि पुरुष क्लब प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ । यस्तै सन् २०२६ देखि साफ यु-२३ च्याम्पियनसिप पनि आयोजना हुने भएको छ।