इङ्लिस प्रिमियर लिग

लिभरपुलको सहज जित, चेल्सीले अंक बाँड्यो

लन्डन । न्युक्यासल युनाइडेडलाई ३-१ ले पराजित गर्दै लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीसँगको दुरी एक अंकमा झारेको छ ।

सातौं मिनेटमा जोन्जो सेल्भेले गोल गर्दैन्युक्यासललाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा डिएगो जोटाले लिभरपुललाई खेलमा फर्काए । त्यसको चार मिनेटपछि नै मोहम्मद सलाहाले बललाई जाली चुमाउँदै लिभरपुललाई अग्रता दिलाए । 

खेल सकिन तीन मिनेट बाँकी रहँदा ट्रेन्ट एलेक्जेन्डर अमोल्डले लिभरपुलका लागि तेस्रो गोल गरे ।

योर्गान क्लोपको टोली १७ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ,जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको म्यानचेस्टर सिटी भन्दा एक अंक कम हो । चेल्सी ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । 

चेल्सीले भने एभर्टनसँग १-१ को बराबरीमा रोकिएपछि शीर्ष टोली सिटीमाथि दबाब दिने अवसर गुमायो ।

७०औं मिनेटमा मेसन माउन्टले चेल्सीको गोल खाता खोलेका थिए । तर त्यसको चार मिनेटपछि नै ज्रान्ड ब्रान्टह्वाइटले एभर्टनलाई खेलमा फर्काएका थिए ।