लियोनेल मेसी

अग्विरोको संंन्यास हाम्रा लागि पिडादायीः मेसी

पेरिस । मुटुको समस्याका कारण आफ्नो टोली सहयात्री सर्जियो अग्विरो खेलजीवनबाट संन्यासको घोषणा गर्न बाध्य भएपछि अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले दुःख व्यक्त गरेका छन् ।

३३ वर्षे अग्विरोले बुधबार संन्यासको घोषणा गरेका थिए । अक्टोबर ३० मा स्पेनिस ला लिगा अन्तर्गत डेपोर्टिभो आलाभेससँग १-१ को बराबरी भएको खेल दौरान अग्विरो छातीमा असहज महसुस भएपछि मैदान बाहिर आएका थिए । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । स्वास्थ परिक्षणको क्रममा उनको मुटुमा समस्या देखिएको थियो ।

अग्विरोले सक्रिय खेलजीवनमा फर्कदा स्वास्थमा थप जोखिम आउने भन्दै चिकित्सकले संन्यास लिन सुझाएपछि आफूले खेलजीवनमा पूर्णविराम लगाउने कठिन निर्णय लिएको बताएका छन् ।
 

अग्विरो यसै सिजन इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना अनुबन्धन भएका थिए । उनले बार्सिलोनाबाट चार खेल खेल्दै एक गोल गरे । अग्विरोको मेसीसँग एकै क्लबबाट व्यवसायिक फुटबल खेल्ने चाहाना पूरा नहुँदै अन्त्य भयो ।

 बार्सिलोनाले ला लिगाको आर्थिक नियमका कारण सम्झौता नबिकरण गर्न नसकिने जनाएपछि मेसी पनि यसै सिजन फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा अनुबन्धन भएका थिए ।

तर मेसी र अग्विरोले अर्जेन्टिनाको युवा टोली देखी राष्ट्रिय टोली सम्म एक साथ भने खेलिसकेका छन् ।

जुलाईमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपधि जित्दै २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दा मेसी र अग्विरो टोलीमा थिए ।

‘मैले अग्विरोसँग धेरै समय एक साथ खेलेको छु । हामीसँग धेरै मिठा सम्झना छन्’, मेसीले भने, ‘उनी मेरो एकदम मिल्ने साथी हुन् । हामी मैदानबाहिर पनि उत्तिकै मिल्थ्यौ । हालै मात्र हामीले एक साथ कोपा अमेरिकाको उपाधि उचाल्दै खुशी साटासाट गरेका थियौ । अग्विरोले प्रिमियर लिगमा आफूलाई अब्बल खेलाडीको रुपमा प्रमाणित गरिसकेका थिए । तर जुन प्रकारले उनको खेलजीवको अन्त्य भयो,त्यो निकै दुःखद रह्यो ।’

‘अग्विारोको जीवनको नयाँ यात्रा सुरु भएको छ र मलाई थाहा छ उनले खुशीसाथ आफ्नो दैनिकी चलाउनेछन्’, मेसीले थपे, ‘नयाँ यात्राका लागि शुभकामना साथी । राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अब हामी मैदान मैदानमा तिम्रो अनुस्थिती हाम्रा लागि पिडादायी हुनेछ ।’